काठमाडौं– आईसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासँगको खेलामा नेपाल १७४ रनमै अलआउट भएको छ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौकासहित सर्वाधिक ५५ रनको योगदान दिए।
मल्लको ओडीआई करिअरमा यो दोस्रो अर्धशतक हो। मल्ल नेपालबाट ओडीआईमा तेस्रो अर्धशतक प्रहार गर्ने रोहितकुमार पौडेलपछि दोस्रो खेलाडी हुन्।
मल्ल नेपालबाट ओडीआईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन्। उनले १५ खेलबाट ३ सय ६६ रन बनाएका छन्।
यता, पूर्वकप्तान पारस खड्काले १० खेलबाट ३ सय १५ रन बनाएका छन्।
आजको खेलमा कुशल भुर्तेलले ३६, गुल्सन झाले २८, करन केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन्। अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए।
काइल फिलिपले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए। करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए।
नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।