काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
यस्तै आजको खेलमा नेपालका गुल्सन झाले डेब्यू गर्ने भएका छन्। विक्रम सोबलाई प्रतिस्थापन गर्दै उनी आज प्लेइङ ११ मा परेका हुन्। उनको यो राष्ट्रिय टोलीबाट सबै फर्मेटको क्रिकेटमा डेब्यू हो।
यसअघि गत सोमबार सम्पन्न अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले जित हात पारेको थियो। पहिलो भेटमा अमेरिकालाई पाँच विकेटले हराएको नेपाल उच्च मनोबलमा रहेको छ।
सिरिजअन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध पाँच विकेटल पराजित भएको थियो। यस्तै बिहीबार सम्पन्न खेलमा अमेरिका ओमानसँग चार विकेटको पराजित भयो।
लिग-२ अन्तर्गत ६ खेलमा ६ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लिग-२ विश्वकप छनोटको एक रुप हो। सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।