काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
यसअघि गत सोमबार सम्पन्न अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले जित हात पारेको थियो। पहिलो भेटमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल उच्च मनोबलमा रहेको छ।
सिरिजअन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटल पराजित भएको थियो। यस्तै बिहीबार सम्पन्न खेलमा अमेरिका ओमानसँग ४ विकेटको पराजित भयो।
लिग–२ अन्तर्गत ६ खेलमा ६ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लिग–२ विश्वकप छनोटको एक रुप हो। सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्।लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।