काठमाडौं– मलेसिया क्रिकेट टिमका अलराउण्डर सर्भिन मुनियान्डीले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
२५ वर्षीय मुनियान्डी चौंथो संस्करणको ईपीएलका लागि भैरहवामा अनुबन्ध भएको जनाइएको छ। मुनियान्डी भैरहवाले अनुबन्ध गरेका चौथो विदेशी खेलाडी हुन्।
यसअघि भैरहवाले बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका बलर धम्मिका प्रसाद र श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरेको थियो। दिनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिइ सकेको छ ।
चौथो संस्करणको ईपीएल आगमी असोज ९ देखि २३ सम्म टियु क्रिकेट मैदानमा हुँदैछ। भैरहवाका मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानाइके छन्।
भैरहवाको कप्तान शरद भेषावकर छन् भने युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा जस्ता वर्तमान नेपाली टोलीमा रहेका युवा स्टार छन्।
टोलीमा प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।