काठमाडौं- श्रीलंकाका दिग्गज अफ स्पिन बलर मुथ्थैया मुरलीधरनले आफ्ना खेलाडीलाई राम्ररी बुझ्ने कलाले महेन्द्र सिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आईपीएल)को एक सफल कप्तान बनाएको बताएका छन्।
क्रिकइन्फोको एक विशेष कार्यक्रममा आफ्नो पहिलो आईपीएल सिजनबारे कुरा गर्दै उनले धोनीमा नेतृत्व गर्ने खुबी रहेको बताएका हुन्।
मुरलीधरनले भने, ‘प्रतियोगिताको पहिलो सिजन टोली प्रतियोगिता जित्न आफ्नो रणनीति बनाइरहेको थियो। हाम्रो टोली चेन्नई सुपर किंग्समा धेरै खेलाडी थिए। त्यस टोलीमा लामो समय राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका कप्तान धोनी पनि थिए।’
उनले थपे,‘ धोनीले एक महान काम गरे। उनी पहिलो पटक फ्रेन्चाइजी क्रिकेट टोलीको कप्तानी भूमिका निर्वाह गर्दै थिए। उनमा खेलाडीहरुलाई बुझ्ने क्षमता थियो। म उनको कप्तानीमा धेरै सफल भएँ।’
२००८ मा आईपीएलको पहिलो सिजनमा चेन्नई सुपर किंग्सले आठ खेल जितेर अंक तालिकामा पहिलो हुँदै अन्तिम चारमा स्थान बनाएको थियो। २०१९ सम्म मुरलीधरनले आईपीएल खेले तब चेन्नेइले शीर्ष चारमा आफ्नो स्थान बनायो।
मुरलीधरनले भने, ‘यदि पहिलो सिजन याद गर्नुभएको थियो भने तपाईंहरुलाई थाहा नै होला पिच धेरै खराब थियो। विकेट धेरै कम खस्थ्यो र फास्ट बलरहरुलाई विकेट लिन धेरै संघर्ष गर्नुपर्थ्यो। ब्याटिङ गर्दा भने सजिलै २०० रन बनाउन सकिन्थ्यो। एक इनिङ्समा १५० रन बन्नु त सामान्य अभ्यास खेलको रुपमा लिइन्थ्यो।’
यी कठिन परिस्थितिको बावजुद मुरलीधरनले पहिलो सिजनमा राम्रो प्रदर्शन गरे। उनी १५ खेलमा कुल ११ विकेट लिन सफल भए। उनी चेन्नई सुपर किंग्सको लागि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी पनि बनेका थिए।
पहिलो संस्करणमा आफ्नो रणनीतिबारे कुरा गर्दै मुरलीधरनले भने, ‘त्यो सिजनमा म विकेट लिनुभन्दा रन रोक्नमा बढी ध्यान दिन्थें। यसैले मैले विकेट पनि पाएँ। मैले पहिलो तीन सिजनमा कम विकेट लिएको हुन सक्छु। तर, मसँग धेरै राम्रो इकोनोमी छ। त्यसैले म टोलीलाई म्याच जिताउन मद्दत गर्थें।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।