काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिकी क्रिकेट टोलिका कप्तान सौरभ नेत्रवाल्करमाथि कारबाही गरेको छ।
बायाँ हाते बलरसमेत रहेका नेत्रवालकरलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालविरुद्धको खेलमा आईसीसी आचारसंहिताको लेभल-१ को उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो।
आईसीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेत्रवाल्करले आईसीसी संहिताको धारा २.५ को उल्लघंन गरेको पाइयो।’
आईसीसीका अनुसार उक्त धारामा खेलको क्रममा कुनै खेलाडीलाई आउट गर्दा आफ्नो भाषा, व्यवहार र शारीरिक हाउभाउले उक्साउने वा अपमानजनक गतिविधि गर्न नपाइने उल्लेख छ।
आईसीसीले नेत्रवाल्करको अनुशासन रेकर्डमा एक डिमेरिट अंक थपेको छ।
३३औं ओभरमा बलिङको क्रममा कुशल मल्लको विकेट लिएपछि नेत्रवाल्करले उनलाई लक्षित गरी चर्को स्वरमा चिच्याएका थिए।
आईसीसीले नेत्रवाल्करको उक्त ब्यवहारले मल्ललाई आक्रामक गतिविधि गर्न उक्साउने रुपमा अर्थ्याएको छ। फिल्ड अम्पायर राहुल आशेर, विनोद बाबु र अहमद शाह पक्तेनले नेत्रवाल्करको उक्त ब्यवहारमा ध्यानाकर्षण जनाएका थिए।
आईसीसी एलिट प्यानल अफ म्याच रेफ्री ग्रीम लेब्रोयको सिफारिसमा उनीमाथि कारबाही गरिएको हो। त्यसैले औपचारिक सुनुवाइको आवश्यकता नरहेको बताइएको छ।
लेभल १ को उल्लघंन गरे न्यूनतम जरिवाना एक खेलाडीको म्याच फीसको ५० प्रतिशत कटौति र एक वा दुई डिमेरिट अंक थप गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।