काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतका काम अव सम्बन्धित निकायबाट पूरा हुने भएका छन्। प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाहरूको कार्य सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ।
सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवं पुलहरूको कार्य हस्तान्तरण गरिएको हो।
सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र अहिले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी कार्य पनि उक्त विभागलाई हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ। हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरूले तत्कालै पुनर्निर्माणका कार्यहरू सञ्चालन गर्ने जनाइएको छ।
समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी कार्यहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे। त्यसैगरी प्राधिकरणले सडक तथा पुलहरू सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहले बाँकी कार्य सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरू सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुनर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये प्रायः सम्पूर्ण कार्य सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए। धरहराका बाँकी काम भने प्राधिकरणले आफ्नै कार्यकालमा पूरा गर्ने उनको भनाइ छ।
ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मङ्सिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने र त्यस अवसरमा ‘विपत् जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने जानकारीसमेत दिए।
पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरू हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस ९ सम्म क्रियाशील रहनेछ। भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित व्यक्ति एवं परिवारको पुनर्निर्माणका निम्ति २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरिएको थिया । प्राधिकरणको म्याद आगामी पुस ९ सम्म छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।