काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ क्रिकेट प्रतियोगिताका बाँकी खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ।
बुधबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले एक विज्ञप्ति जारी गर्दै स्टेडियम पुगेर दर्शकलाई खेल हेर्न दिइने जानकारी दिएको हो।
यसअगाडी कोरोना महामारीका कारण दर्शकलाई प्रवेश दिइएको थिएन। तर, कोरोना महामारी कम भएको र प्राय: सबैले डबल डोज भ्याक्सिन लिसकेकाले दर्शकलाई राखेर प्रतियोगिता सञ्चालन गर्न सकिने बीसीसीआईले जनाएको हो।
यद्यपि, दर्शकहरुको संख्या सीमित हुनेछ र संयुक्त अरब इमिरेट्स सरकारद्वारा जारी सबै कोभिड प्रोटोकल पालना गरिने आयोजकले जनाएको छ।
बीसीसीआईका अनुसार १६ सेप्टेम्बरबाट टिकट किन्न सकिनेछ। खेल दुबई, शारजाह र अबुधाबीमा खेलाइनेछ।
भारतमा कोरोना महामारी तीव्रगतिमा फैलिन थालेसँगै गत मेमा आईपीएलका सम्पूर्ण खेलहरु स्थगित गरिएको थियो।
अब सुरु हुने प्रतियोगिताको पहिलो खेल १९ सेप्टेम्बरमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।
अबुधाबीमा २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ।
शारजामा पहिलो खेल २४ सेप्टेम्बरमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सबीच हुनेछ।
बीसीसीआईले आईपीएलका कूल ३१ खेल २७ दिनको अवधिमा खेलाइसक्ने जनाएको छ। जसमध्ये १३ दुबईमा, १० शारजाहमा र ८ खेल अबुधाबीमा खेल्नेछन्।
पहिलो क्वालिफायर १०, एलिमिनेटर ११ र दोस्रो क्वालिफायर खेल १३ अक्टोबरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।