फाइल तस्बिर
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा कुशल भुर्तेलले नेपालका लागि कीर्तिमानी ब्याटिङ गरेका छन्। उनी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ओपनिङमा आएर सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
कुशलले अमेरिकाविरुद्ध ९३ बल खेल्दै ८४ रन बनाए। त्यस क्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे। यो सँगै कुशल नेपालका लागि अर्धशतक बनाउने नवौँ खेलाडी बनेका छन्। उनको यो रन नेपालका तर्फबाट ओडीआईमा तेस्रो सर्वाधिक रन पनि हो। पारस खड्काले सर्वाधिक ११५ र रोहित पौडेलले ८६ रन बनाएका छन्।
यसअघि ओपनिङमा आएर नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाएका थिए। उनले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतकै खेलमा ओमानविरुद्ध कीर्तिपुरमा ९ फेब्रुअरी २०२० मा सो उपलब्धि हासिल गरेका थिए।
आजको खेलमा कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटको लागि सर्वाधिक ६६ रनको साझेदारी गरे। नेपालका लागि यसअघि ज्ञानेन्द्र मल्ल र विनोद मण्डारीको सर्वाधिक ६१ रनको साझेदारी थियो।
अहिले नेपालले अमेरिकाविरुद्धले ३३.३ ओभर ब्याटिङ गर्दै १४५ रन बनाउँदा ४ विकेट गुमाएको छ। कुशलबाहेक नेपालका लागि आसिफ सेखले २३, ज्ञानेन्द्र मल्लले १७ र कुशल मल्लले १ रन बनाए। अहिले रोहित पौडेल र विनोद भण्डारी क्रिजमा छन्।
नपालले २३१ रनको लक्ष्य पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।