काठमाडौं– नेपालले अमेरिकाकको पहिलो विकेट लिएको छ।
सोमबार ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाको पहिलो विकेट लिएको हो।
अमेरिकाले टस जितेर बलिङको निम्तो दिएको नेपाली टोलीका लागि विक्रम सोबले विकेट लिएका हुन्। अमेरिकी ओपनर स्टेभिन टेलर सोबको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्।
१७ बलमा एक चौकासहित १४ रन बनाएर टेलर आउट भएका हुन्।
लिग–२ मा बिक्रम सोव र कुशल भुर्तेलले पहिलोपटक खेलेका हुन्।
लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग खेलेको दुबै खेल जितेको थियो।
सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।
त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। उक्त सिरिजमा नेपाल ओमानसँग भने दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।
नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २–० ले क्लिन स्विप गर्यो।
अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो। त्यस्तै नेपालले दोस्रो खेल मंगलबार ओमानसँग खेल्नेछ।लिगमा ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।
१० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।