काठमाडाैं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय र टि २० को कप्तानी त्याग्ने भएका छन्। अक्टोबर–नोभेम्बरमा युएईमा आयोजना हुने टि २० विश्वकपपछि कोहलीले कप्तानी त्याग्न लागेको टाइम्स अफ इन्डियाले जनाएको हो।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा उनले कप्तानी उपकप्तान रोहित शर्मालाई छाड्ने मनस्थिति बनाएको उल्लेख गरिएको छ।
कोहली पिता बनेसँगै उनी कप्तानको भूमिकाबाट अलग हुन चाहेका थिए। उनले पछिल्ला केही महिनायता शर्मा र टिम व्यवस्थापनसँग यस विषयमा लामो छलफल गरेको बताइन्छ।
यता, कोहली पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन्। त्यसैले पनि उनी कप्तानी छाड्दै ब्याटिङमा ध्यान दिने मनस्थितिमा पुगेका समाचारमा उल्लेख छ। ‘कोहली आफैले यस विषयमा चाँडै घोषणा गर्नेछन्। उनी अब कप्तानी छाड्दै आफ्नो व्याटिङमा ध्यान दिन चाहन्छन् र उनी विश्वको उत्कृष्ट व्याट्सम्यान हुन र यही बन्न चाहन्छन्,’ बीसीसीआई स्रोतलाई उद्धृत गर्दै लेखिएको छ।
कोहली भारती टोलीसँग २०२२ र २०२३ को टि २० र एकदिवसीय विश्वकप जित्न चाहन्छन्। त्यसकालाई उनको ब्याटिङ र फर्म निकै महत्त्वपूर्ण हुनेछ।
पछिल्लो समय कोहलीको कप्तानीलाई लिएर क्रिकेट समर्थकहरुले चर्को आलोचना गर्दै आएका छन्। यसले उनमाथि दबाब परिरहेको छ। त्यसैले पनि उनी आफ्नो प्राथमिकता ब्याटिङ राख्न खोजिरहेका छन्।
रोहितले सीमित ओभरमा टिमको कप्तानी सम्हालेमा कोहलीले टेस्टमा भारतीय टीमको कप्तानी जारी राख्न सक्नेछन्। साथै टि २० र एकदिवसीय खेलमा ब्याटिङमा पनि सुधार गर्न सक्छन्।
उनी भर्खर ३२ वर्ष पुगेका छन्। उनको फिटनेसलाई हेरेर भन्ने हो भने उनी अब कम्तीमा ५/६ वर्ष क्रिकेट खेल्नेछन्। कोहलीले अहिलेसम्म ६५ टेस्ट म्याचको कप्तानी गरेका छन् जसमा ३८ मा जित हात पारेको छ। उनले ९५ एकदिवसीयमा खेलमा भारतको नेतृत्व गरेका छन् र ६५ खेल जितेका छन्। कोहलीले ४५ टि २० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरेका छन्, जसमा उनले २९ खेल जिताएका छन्।
कोहलीले २०१४ मा टेस्ट र २०१७ मा महेन्द्र सिंह धोनीले कप्तानी छाडेपछि भारतीय टोलीको कप्तान नियुक्त भएका थिए। कप्तान र ब्याट्सम्यानका रुपमा राम्रो सफलता हात पारेको भए पनि कोहलीले आईसीसीको कुनै प्रतियोगिता कप्तानका रुपमा जित्न भने सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।