काठमाडौं- बंगलादेशी ब्याट्सम्यान तमिम इकबालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन्।
भैरहवाले तेस्रो विदेशी खेलाडीको रुपमा तमिमसँग सम्झौता गरेको जानकारी दिएको हो। ३२ वर्षीय तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
तमिमले टी-२० आईमा १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५८ रन बनाएका छन्।
तमिमले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन्। ओडिआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन्। तमिमले टी-२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका थिए। तमिम बिनानै बंगलादेशले विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ।
भैरहवाले विदेशी खेलाडीको रुपमा यसअघि श्रीलंकाका पूर्वकप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई टोलीमा अनुबन्ध गरिसकेको छ। दिनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिई सकेको छ ।
चौथो संस्करणको ईपीएल आगमी असोज ९ देखि २३ सम्म टियू मैदानमा हुँदैछ। भैरहवाका मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानाइके छन्।
भैरहवाको कप्तान शरद भेषावकर छन् भने युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा जस्ता वर्तमान नेपाली टोलीमा रहेका युवा स्टार छन्।
टोलीमा प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।