काठमाडौँ– एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका छन्। उनीहरुले पीएनजीविरुद्ध ८९ रनको साभेदारी गरे।
कप्तान मल्ल ४५ रन बनाएर बाहिरिएका छन्। पपुवा न्यू गिनीका चाड सोपरले मल्ललाई एलबीडब्लू धरापमा पारेर उक्त साझेदारी तोडेका थिए।
तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्ने क्रममा मल्लले दुई छक्का र तीन चौका प्रहार गरे भने रोहित पौडेलले दुई छक्का र एक चौका प्रहार गरे।
यसअघि यो कीर्तिमान कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो। उनीहरुले ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध भएको खेलमा छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको उक्त खेल कीर्तिपुरमा भएको थियो।
तेस्रो विकेटको लागि नेपालको सर्वाधिक साझेदारी भने ६२ रनको थियो। शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतकै खेलमा ओमानविरुद्ध उक्त साझेदारी गरोक हुन्। त्यो खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमै भएको थियो।
पीएनजीविरुद्ध आज मल्ल बाहिरिए पनि पौडेल क्रिजमा नै छन्। उनले ४० रन बनाएका छन्। नेपालले २९ ओभरमा ११९ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।