काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै छ। नेपाल र पीएनजीबीचको दोस्रो खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार आज अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।
पीएनजीसँगको दुई खेलको सिरिजअन्तर्गत गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले २ विकेटका जित हात पारेको थियो। नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा छ भने पीएनजी नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ। स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो। नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो। पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ।
पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ। लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।