काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी)सँगको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृङ्खला अन्तर्गत पहिलो प्रतिध्पर्धामा नेपाल २ विकेटले विजयी भएको छ। पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा ४०औँ ओभरमा पूरा गरेको छ।
नेपाललाई जित दिलाउन रोहितकुमार पौडेलले ६४ बलमा ४२ रन बनाए। उनले दुई चौका प्रहार गरे। नेपाललाई जितका लागि १ रन मात्र आवश्यक हुँदा उनी बाहिरिएका थिए। पीएनजीले ३९.४ ओभरमा नो बल फालेपछि नेपालले लक्ष्य पार गरेको हो।
नेपालले ८२ रनमा सातौँ विकेट गुमाएपछि क्रिजमा आएका सोमपाल कामीले रोहितलाई गतिलो साथ दिएका थिए। उनले ३२ बलमा २२ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरे।
नेपालले ब्याटिङमा राम्रो सुरुआत गरे पनि मध्यक्रम ढल्पलाउँदा सानो लक्ष्य भेट्न संघर्ष गर्नु परेको थियो। डेब्युमा नै ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४६ रनका पार्टनरसिप गरेका थिए।
आसिफ सेखले ३० रन बनाए। उनले ४६ बलमा चार बाउन्ड्री प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले १५, आरिफ सेखले ९ र ज्ञानेन्द्र मल्लले ६ रन बनाएर बाहिरिए। शरद भेषवाकरले २२ बल खेल्दै ६ रन बनाए। कुशल मल्ल ३ बलमा १ रन बनाए। मल्ल वाइड बलमा स्टम्पिङ भए।
त्यस्तै पवन सर्राफ पहिलो बलमा नै आउट भए। उनी ओडीआईमा गोल्डेन डकआउट हुने नेपालका दोस्रो ब्याट्स्म्यान हुन्। यसअघि रोहित पौडेल ओमानविरुद्ध कीर्तिपुरमा फेब्रुअरी ५, २०२० भएको वर्ल्ड क्रिकेट लिग–२ को खेलमा गोल्डेन डक भएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १३४ रनमा अलआउट भएको थियो। नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिएका थिए।
आजको खेलबाट ओडीआईमा डेब्यु गरेका विक्रम सोबले सुरुमै पीएनजीलाई दबाबमा राखेका थिए। उनले डेब्यु बलमा नै विकेट लिएका थिए। विक्रम र कुशल मल्लले दुई–दुई विकेट लिएका थिए। सोमपाल कामीले एक विकेट लिएका थिए भने एक जना रन आउट भएका थिए।
कुनै पनि समय नेपाली बलरले पीएनजीका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन्। ३ रनमा पहिलो विकेट गुमाएको पीएनजीले दोस्रो विकेट ९ रनमा गुमाएको थियो। दोस्रो विकेट पनि विक्रमले नै लिएका थिए।
पीएनजीका लेगा सिआका र चार्ल्स अमिनीले तेस्रो विकेटका लागि सर्वाधिक ५० रनको साझेदारी गरेका थिए। तर, टीमको रन ५९ पुग्दा दुवै जनाले आफ्नो विकेट गुमाए। अमिनी २३ बनाउँदा सन्दीपको बलमा बाहिरिए। सिआकालाई ३० रनमा कुशलले पेभेलियन पठाए।
पीएनजीले पाँचौँ विकेट ८५ रनमा गुमेको थियो। छैटौँ ९६ र सातौँ विकेट ९७ रनमा गुमाएको थियो। त्यस्तै आठौँ १२४ र नवौँ विकेट १२५ रनमा गुमेको थियो। अन्तिम विकेट १३४ रनमा गुमाएको थियो।
अहिलेसम्म ११ ओडीआई खेलेको नेपालको यो छैटौँ जित हो। अब पीएनजीसँग अर्को खेल आगामी शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।