फाइल तस्बिर
काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट गुमाएको छ। शरद भेषवाकर ६ रन बनाएर बाहिरिएका छन्।
भेषवाकरले २२ बल खेल्दै ६ रन बनाएका हुन्। नेपाल २६.४ ओभरमा ७८/५ को अवस्थामा पुगेको छ।
अहिलेसम्म नेपालका लागि आसिफ सेखले सर्वाधिक ३० रन बनाएका छन्। उनले ४६ बलमा चार बाउन्ड्री प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले १५, आरिफ सेखले ९ र ज्ञानेन्द्र मल्लले ६ रन बनाएर बाहिरिए।
ओपनिङ जोडीका रुपमा ओडीआई डेब्यु गरेका कुशल र आरिफले औषत प्रदर्शन गरे। उनीहरुले पहिलो विकेटका लागि ४६ रनका पार्टनरसिप गरेका थिए।
अहिले क्रिजमा रोहितकुमार पौडेल १० रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिन कुशल मल्ल मैदान प्रवेश गरेका छन्।
यसअघि पहिलो इनिङ ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १३४ रनमा अल आउट भएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।