काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा तीन खेलाडीले एक साथ डेब्युको मौका पाएका छन्। ब्याट्स्म्यान कुशल भुर्तेल, आसिफ सेख र विक्रम सोबले डेब्युको मौका पाएका हुन्।
राष्ट्रिय टिमबाटै डेब्यु गर्न बाँकी गुल्सन झाले भने आज डेब्युको मौका पाएनन्। अब सोमपाल कामी र विक्रम सोबले तीव्र गतिको बलिङ आक्रमण गर्नेछन्। आज दीपेन्द्रसिंह ऐरी र करण केसी अन्तिम–११ मा छैनन्
विक्रम सोब राष्ट्रिय टिममा परेर पनि अन्तिम–११ मा स्थान नपाउँदा राष्ट्रिय टिमबाट डेब्यु गर्न बाँकी थियो। तर, ओडीआई मान्यतापछि भने २९ वर्षीय विक्रम पहिलो पटक टिममा परेका हुन्।
कुशल भुर्तेलले ‘लिष्ट ए’ मा भने १४ नोभेम्बर २०१९ मा एसीसी इमर्जिङ टिम्स कपमा नेपाल इमर्जिङबाट डेब्यु गरेका थिए। भारत इमर्जिङविरुद्ध ज्ञानेन्द्र मल्लको ओपनिङ जोडीको रुपमा खेलेका उनले ६० बलमा २८ रन बनाएका थिए। तीन वटा ‘लिष्ट ए’ खेल्दा उनले ३९ रन बनाएका छन्।
टी२० अन्तर्राष्ट्रियमा भने उनले गएको १७ अप्रिलमा ‘ट्राइ नेसन सिरिज’मा नेदरल्याण्डविरुद्ध डेब्यु गरेका थिए। उक्त प्रतियोगितामा पाँच इनिङ ब्याटिङ गर्दा उनले चार वटा अर्धशतकसहित २७८ रन बनाएका थिए। यही प्रतियोगिताबाट उनले ओडीआईको पनि ढोका खोलेका हुन्।
त्यस्तै आसिफ सेखले पनि टी२० अन्तर्राष्ट्रियमा गएको १७ अप्रिलमा ट्राइ नेसन सिरिजको पहिलो खेलमा नेदरल्याण्डविरुद्ध डेब्यु गरेका थिए। राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमा नै ३८ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
आज नेपालले खेल्न लागेको ११औँ ओडीआई हो। १ अगष्ट २०१८ मा ओडीआई मान्यता प्राप्त गरेयता नेपालबाट आज डेब्यु गरेका तीनसहित २६ खेलाडीले खेल्ने मौका पाइसकेका छन्। १ अष्ट २०१८ मा ओडीआई डेब्यु गर्दाका सुरुआती ११ मध्ये अहिले टिममा सात खेलाडी छन्। त्यति बेला बेञ्चमा रहेका रोहितकुमार पौडेल पनि टिममा छन्।
त्यस बेला टिमको कप्तानी गरेका पारस खड्का र शक्ति गौचनले सन्यास लिइसकेका छन्। वसन्त रेग्मी र अनिल साह टिममा छैनन्। वसन्त अहिले अमेरिकामा माइनर लिग प्रतियोगिताहरु खेलिरहेका छन्।
पहिलो खेल खेलेका ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने टिममा छन्। यी खेलाडीमध्ये दिपेन्द्र र करणले आजको खेल गुमाएका छन्।
आजको खेलमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको छ। पहिलो इनिङमा नेपाल बलिङ गरिरहेको छ। नेपालको बलिङ आक्रमणको सोमपाल कामी, सन्दीप लामिछानेले नेतृत्व गर्नेछन्। त्यस्तै विक्रम सोब, सुसन भारी पनि बलिङ आक्रमणमा सहभागी हुनेछन्। अलराउन्डर पवन सर्राफ र कुशल मल्ल पनि छन्।
उपकप्तान दीपेन्द्र चन्दको गोलीगाँठोमा चोट लागेको कारण उनी खेल्ने नखेल्ने केहीबेरमा मात्र निश्चित हुनेछ। आज नेपालले नयाँ ओपनिङ जोडीका साथ खेल्ने छ। नेपाली टिममा रहेका कुशल भुर्तेल, आसिफ सेख, विक्रम सोब र गुल्सन झाले ओडीआईमा डेब्यु गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।