काठमाडौं- ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुने खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको थियो।
यसअघि अमेरिकाले सोमबार पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीमाथि ७ विकेटको जित हात पारेको छ। जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ। स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो। नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो। पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ।
पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ। लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।