काठमाडौं- आगमी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा हुने टि–२० विश्वकप अगाडि नै पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले पदबाट राजीनामा दिएका छन्। मिसबाहको साथै टोलीको बलिङ प्रशिक्षक वकार युनिसले पनि राजीनामा दिएका छन्।
पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको घरेलु टि–२० शृङ्खला र आगामी टि–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो। घोषणाको केही दिनपछि नै मिसबाह र वकारले राजीनामा दिएका हुन्।
दुवै २०१९ मा पाकिस्तानी टोलीसँग जोडिएका थिए। उनीहरुको अझै एक वर्ष करार बाँकी रहेको थियो। तर, उनीहरुले आकस्मिकरुपमा राजीनामा दिएका हुन्।
मिस्बाहले पीसीबीलाई लिएको राजीनामा पत्रमा आफू विगत २४ महिनादेखि टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको र ‘बायो बबल’मा बसिरहेको उल्लेख गरेका छन्।
‘यो पदबाट हट्ने सही समय होइन, तर आगामी चुनौतीका लागि म मानसिकरुपमा तयार छैन,’ उनले भनेका छन्।
मिस्बाह र वकारको पीसीबीका अध्यक्ष रमीज रजासँग राम्रो सम्बन्ध थिएन। रमीजले कयौँ पटक दुवैको सार्वजनिकरुपमा नै आलोचना गरेका थिए।
वेस्ट इन्डिजको टूरमा टोलीले प्रदर्शन लज्जास्पद रहेको उनले सामाजिक सञ्जालमा लेखेका थिए। मिस्बाह र वकारले पद छाडेपछि पीसीबीले सक्लेन मुस्ताक र अब्दुल रज्जाकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।