म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युतको विद्युतगृह बगाएको हो।
वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन्। उनका अनुसार दुई वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए।
मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युतगृहको भवनलगायत महत्त्वपूर्ण सामान बगाएको छ। बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्याएको छ।
विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना दुई वर्षअघि १ करोड ५२ लाखको लागतमा पुनर्निर्माण गरिएको थियो। लुलाङ, खोरिया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।