फाइल तस्वीर काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ। आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउन लागेको खानेपानी मन्त्रालयले जनाएको छ।
टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्ने जनाइएको छ। खानेपानी मन्त्रालयले उक्त भूभाग जोखिमयुक्त रहेको भन्दै एडीबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो।
एक साताभित्र टोली आइपुग्ने मन्त्रालयले जनाएको छ। हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आआफ्नो हिसाबले अध्ययन गरिरहेका छन्।
मेलम्ची नदीमा बाढी आउँदा हेडवक्र्स, अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ। आयोजना पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँ खर्च लाग्ने जनाइएको छ।गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ। उक्त बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ।
मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापनामा नेपाली सेनालाई खटाउन प्रस्ताव गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले काम बाँडेर गर्न योजना प्रस्ताव गरेको हो।
समितिका अनुसार आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरू समेत बाढीले बगाएको छ।
धेरै संरचना पुरिएका छन्। उक्त संरचनाको पुनर्निर्माणका लागि सिनो हाइड्रो र नेपाली सेनालाई जिम्मा दिने योजना समितिको छ।
यसअन्तर्गत अम्बाथान क्याम्पको पुनः निर्माण, मेलम्ची बजारस्थित मुख्य क्याम्पहरूको मर्मत तथा क्याम्पहरूमा आवश्यक खानेपानी, विद्युत्, सरसफाइजस्ता सेवा सञ्चालन गरिने जनइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।