काठमाडौं- श्रीलंका पूर्वतीव्र गतिका बलर धाम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा ३८ वर्षीय प्रसाद भित्र्याएको हो।
उनले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन्। प्रसादले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन्।
उनले २००६ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गर्दै आफ्नो करिअरको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए। उनले २१ टि२० खेलमा १९ विकेट लिएका छन्। १ सय ३० प्रथम श्रेणी र १ सय १९ लिष्ट ए खेल खेलेका छन्।
भैरहवाले यसअघि श्रीलंका ओपनर तथा पूर्वकप्तान उपुल थरंगा भित्र्याएको जानकारी दिएको थियो। यता, विकेटकिपर दीनेश चान्डिमललाई भित्र्याउने कोसिस गरेपनि उनी अन्तर्राष्ट्रिय खेलको कारण नआउने पक्का भइसकेको छ।
भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुदु दसानायेके छन्। शरद भेषावकर कप्तान रहेको भैरहवामा अभिनाश बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहित कुमार पौडेल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, विकास आग्री, दुर्गेश गुप्ता, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ र हिमान्शु स्वदेशी खेलाडीको रुपमा छन्।
ईपीएल असोज ९ देखि २३ सम्म टियू मैदान कीर्तिपुरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।