काठमाडौं- घरेलु टोली बंगलादेशले न्युजिल्यान्डविरुद्धको दोस्रो टि२० आई खेलमा चार रनको रोमाञ्चक जित हात पारेको छ।
जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो। योसँगै पाँच टि२० आई सिरिजमा बंगलादेशले २-० को अग्रता लिएको छ।
न्युजिल्यान्डका कप्तान टम लामथ ४९ सर्वाधिक ६५ रनमा अविजित रहे। उनले ६ चौका र १ छक्का प्रहार गरे। यता, विल योंग २२, कोले म्याकोन्चीले १५ र रचिन रविन्द्रले १० रन बनाए।
बंगलादेशका सकिब अल हसन र माहेदी हसनले २–२ विकेट लिए। यस्तै, मुस्ताफिजुर रहमानले एक विकेट लिए।
त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो।
उसका लागि ओपनर मोहम्मद नईमले सर्वाधिक ३९ रन बनाए। उनले ३९ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै, लिटन दास ३३ रनमा आउट भए भने कप्तान महमुदूल्लाह रियाद ३७ रनमा अविजित रहे।
न्युजिल्यान्डका स्पिनर रचिन ३ विकेट लिए। अजाज पटेल, हसिम बेनेट र कोले म्याकोन्चीले एक/एक विकेट लिए।
पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको थियो। तेस्रो खेल आइतबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।