काठमाडौं- शार्दूल ठाकुरले बेलायती मैदानमा सबैभन्दा छिटो टेस्ट प्रतियोगितामा अर्धशतक प्रहार गरेर इयान बोथमको कीर्तिमान तोडेका छन्।
शार्दूलले ३१ बलमा आफ्नो दोस्रो टेस्ट अर्धशतक प्रहार गरेर इयान बोथमको ३५ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन्।
खेलपछि प्रतिकृया दिँदै उनले आफूलाई दिएको जिम्मेवारी पूरा गरेको बताएका छन्।
‘यदि भारतको लागि खेल्दै हुनुहुन्छ भने तब तपाईंले एक मौका पाउनुहुन्छ। त्यो मौका जसरी भएपनि सदुपयोग गर्नुपर्छ। मैले त्यहीँ गरें,’ उनले भने।
भारतका लागि शार्दूलले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिएका थिए। तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूलले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केही इनिङ्स उकासेका थिए।
मुम्बईका अलराउन्डर शार्दूलले इंग्ल्याण्डविरुद्धको खेल निक्कै चुनौतीपूर्ण रहेको पनि स्वीकार गरे। उनका अनुसार प्रशिक्षकले दिइएको सकेसम्म सीधा खेल्न सल्लाह दिएका थिए।
‘इंग्ल्याण्डसँग खेल्दा जति धेरै तपाईं सीधा ब्याटिङ खेल्नुहुन्छ, त्यति धेरै रन पाउनुहुनेछ। बल धेरै स्विंग हुन्छ त्यसैले यो सीधा खेल्नु राम्रो हुन्छ। मेरा प्रशिक्षकले मलाई सिधा ब्याटिङ गर्न र सकेसम्म स्कोर गर्न सल्लाहा दिनुभएको थियो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।