काठमाडौं- विवेकशील साझा पार्टीको विवाद पुन: सतहमा आएको छ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्। अध्यक्ष मिश्रले यसअघि एकतर्फी रुपमा बिहीवारका लागि बैठक बोलाएको भन्दै संयोजक पाण्डेले बिहीबारनै बेग्लै बैठक बोलाएका हुन्।
पाण्डेले बिहीबार ११ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएका हुन्।
विवेकशील साझा पार्टीको विधानको दफा २०(१०) अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं अजेन्डा तय गरिने गरिएको भएपनि यसपटक अध्यक्षसँग अजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको संयोजक पाण्डेले जनाएका छन्।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’ गरेका कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको भन्दै पाण्डेले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको बताएका छन्।
'विवेकशील साझा पार्टीको विधानको दफा २० (१०) अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको ब्यहोरा यहाँमा अवगत नै छ । यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु' पाण्डेले भनेका छन्।
पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेज गरेर धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज नै पेश गरेपछि पार्टीको विवाद पुन: सतहमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।