काठमाडौं– जिम्बावेका टि२० कप्तान सिकन्दर राजाले विराटनगर वारियर्सबाट एभरेष्ट प्रिमियर लिग (इपिएल)खेल्ने भएका छन्।
विराटनगर वारियर्सले सोमबार सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीका रुपमा राजाको नाम सार्वजनिक गरेको हो। अलराउन्डर राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ ओडिआई, ४२ टि२० आई र १ सय १७ टि२० क्रिकेट खेलेका छन्।
यसअघि २०१८ मा काठमाडौं किंग्स–११ मा अनुबन्ध भए पनि राजाले व्यक्तिगत कारण देखाएर इपिएलमा आएका थिएनन्। ३५ वर्षीय सिकन्दर आक्रमक ब्याटिङ गर्नुका साथै स्पिन बलिङ गर्ने गर्दछन्। राजाले टि२० खेलमा १२ अर्धशतकका साथ २ हजार ७५ रन बनाएका छन्।
चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ। फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाएका छन्।
यसअघि अन्य क्लबले पनि विदेशी खेलाडी सार्वजनिक गरिसकेका छन्। चितवनले अफगानिस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका दिनेश आजिज, मलेसिया विरनदीपसिंह र श्रीलंका सिक्कुगे प्रसन्नाको नाम सार्वजनिक गरिसकेको छ।
काठमाडौंले पाकिस्तानका शाहिद अफ्रिदीको नाम सार्वजनिक गरेको छ भने भैरहवाले श्रीलंकाका दिनेश चान्डिमलको नाम सार्वजनिक गरेको छ। ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ। पोखरा राइनोजले भने हालसम्म कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।