काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका डेब वाटमोरलाई रोक्ने प्रयास थालेको छ।
वाटमोरलाई नेपाल बस्न सहज बनाउन परिवार यतै राख्ने व्यवस्था गर्ने गरी उनलाई रोक्न प्रयास थालिएको क्यान स्रोतले जनाएको छ। क्यानले वाटमोरलाई परिवारसहित नेपालमा राख्ने प्रस्ताव पठाइसकेको छ। अहिले क्यान उनीसँग संवादमा नै रहेको स्रोतको भनाइ छ।
नेपाली टिमसँगै ओमानमा रहेका प्रशिक्षक वाटमोरले शुक्रबार इमेलमार्फत् क्यानलाई राजीनामा पठाएका थिए। राजीनामामा उनले परिवारलाई समय दिनुपर्ने भएकाले ओमान ‘टुर’पछि नेपाल नबस्ने उल्लेख गरेका छन्।
यसअघि गएको मार्चमा नै ‘टाइम्स इन्डिया’ले वाटमोर आगामी सिजनका लागि ‘रणजी’ टिम बरोदाको प्रशिक्षक हुनसक्ने जनाएको थियो। गएको डिसेम्बरमा बरोदा क्रिकेट एसोसिएसनसँग उनको वार्ता पनि भएको थियो। कोरोना महामारीका कारण भिषासम्बन्धी समस्या हुने भएपछि उनीसँग सम्झौता हुन सकेको थिएन।
त्यसैलाई आधार मानेर ‘सिजारस्पोर्टज’ले वाटमोर भारत जान नेपाल छाड्न चाहेको समाचार शुक्रबार छापेको छ। तर, क्यान स्रोतले भने वाटमोरले अन्य टिम वा देशसँग सम्झौता गरेको जानकारी नभएको बताएको छ।
‘क्यानको पहिलो प्रयास वाटमोरलाई नै नेपाल राख्ने हुन्छ। उनका समस्या र मागका सम्बन्धमा छलफल हुँदैछ,’ क्यान स्रोतले भन्यो, ‘उनको नबस्ने नै चाहना हुँदा नयाँ प्रशिक्षक त आवश्यक हुन्छ नै।’ तर, अहिले नयाँ प्रशिक्षक ल्याउन कुनै प्रक्रिया सुरु नभएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।