काठमाडौं- इङ्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई एक इनिङ्स ७६ रनले पराजित गरेको छ। यससँगै इङ्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा ल्याएको छ। यस अगाडि पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो।
तेस्रो टेस्टको पहिलो इनिङ्समा टस जितेको भारत तीव्र गतिका बलर ओली रबिन्सनले घातक बलिङ गरेपछि मात्र ७८ रनमा समेटिएको थियो।
पहिलो इनिङ्समा इङ्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटिएको हो।
चौथो दिनको सुरुवातमै भारतले चेतेश्वर पुजारालाई गुमाएको थियो। उनी १ सय ८९ बलमा १५ चौकासहित ९१ रन जोड्दै रबिन्सनको एलबीडब्लु धरापमा परे।
त्यसपछि कप्तान विराट कोहली पनि ५५ रन जोड्दै आउट भए। १ सय २५ बलमा ८ चौका प्रहार गरेका उनी रबिन्सनको बलमा स्लिपमा समातिए। लगत्तै अर्को ओभरमा अजिंक्या रहाने १० रन जोड्दै आउट भए।
त्यसको अर्को ओभरमा ऋषभ पन्त मात्र १ रन जोड्दै रबिन्सनको बलमा आउट भए। मोहमद शामी ६ रनमा आउट भए। इशान्त शर्मा २ रन जोड्दै रबिन्सनको बलमा विकेटकिपर बटलरको हातबाट क्याचआउट भए।
जडेजा ३० रन जोड्दै विकेटकिपरबाट समातिए। रबिन्सनले ५ विकेट हात पार्दा ओभर्टनले २ तथा एन्डरसन र अलीले १-१ विकेट लिए।
यसअघि पहिलो इनिङ्स्समा भारत ७८ रनमा सिमित भएको थियो।
पहिलो इनिङ्समा घरेलु टोलीका एन्डरसनसले ६ विकेट लिएका थिए। इङ्ल्यान्डले रुटको शतकमा पहिलो इनिङ्समा ४ सय ३२ रन जोड्दै ३ सय ५४ रनको अग्रता बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।