काठमाडाैं– मलेसियाका विकेटकिपर ब्याट्सम्यान विरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। २२ वर्षीय विरनदीपले सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सबाट ईपीएल खेल्न लागेका हुन्।
चितवनले अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद र पाकिस्तानी अलराउन्डर दानिस अजिजलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। त्यस्तै, श्रीलंका स्पिनर सीक्कुगे प्रसन्ना र अफगानिस्तानका करिम जान्तलाई पनि चितवनले टोलीमा अनुबन्ध गरेको छ।
विरनदीपले २५ टी२० आई खेलमा ६ सय ८४ रन बनाएका छन्। चितवनमा सोमपालसँगै दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, सन्दीप सुनार, साहब आलम, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन्।
ईपीएल आगमी असोज ९ देखि २३ सम्म टियू मैदानमा हुनेछ। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन्।
साविक विजेता ललितपुर प्याट्रियट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।