काठमाडौं- लेग स्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन्।
होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ।
गत सिजन सन्दीपले होबार्टबाट ८ खेल खेल्दा ८ विकेट लिएका थिए। सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले १३ खेलमा १५ विकेट लिएका थिए। सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष ८ खेलमा ११ विकेट हात पारेका थिए ।
सन्दीपले क्रिक इन्फोसँग कुरा गर्दै अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् ।
उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताए।
'मैले साँच्चै गत वर्ष होबार्टबाट खेल्दा निकै मज्जा लिएको थिएँ। त्यसैले म उत्साहित छु। हामीसँग गत वर्ष खेलाडीहरुको एक ठूलो समूह थियो र हामीमध्ये धेरैले यस वर्ष पनि सँगै खेल्नेछौं। पूरै सिजनको लागि होबार्ट भएकोले म आशा गर्दछु कि व्यक्तिगत रूपमा केहि बलियो प्रदर्शन गर्न सक्छु र टिमको लागि योगदान गर्न सक्छु,' उनले भने।
होबार्टले सम्झौता गरेको पहिलो विदेशी खेलाडी हुन् सन्दीप। होबार्टले स्वदेशी खेलाडीको रुपमा स्कट बोल्याण्ड, कालेब ज्वेल, जोश कान, बेन म्याकडरमोट, रिले मेरिडिथ, टिम डेविड, नाथन इल्स, पिटर ह्यान्ड्सकोम्ब, मिच ओवेन, जोएल पेरिस, विल पार्कर, डा आर्सी सर्ट, म्याथ्यू वेड र म्याक राइटसँग सम्झौता गरेको छ ।
बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।
सन्दीप हाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजको लागि ओमानमा छन् । सेप्टेम्बर १९ सम्म नेपाली टोलीको ओमानमा खेल तालिका छ। पछिल्लो पटक गत जनवरीमामा खेलेको बिग ब्यासनै सन्दीपको अन्तिम फ्रेन्चाइज लिग हो।
त्यसपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा विकेनन्। पाकिस्तान सुपर लिग (पीएसएल) कोरोना कारण कराँची पुगेर फर्किएका थिए। टी२० ब्लास्ट र द हन्ड्रेड उनले भिसाको कारण गुमाए।
द हन्ड्रेडको लागि सन्दीप बेलायतनै पुगेर फर्किएका थिए। क्यारेवियन प्रिमियर लिग (सीपीएल) नेपालको खेल जुधेको कारण गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।