काठमाडौं- विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न ओमान पुगेका राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडी र अफिसियलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
१७ खेलाडीसहित २२ सदस्यीय टोली मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट सलाम एयरमार्फत् ओमान पुगेका थिए। ओमान पुगेपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट बुधबार नेगेटिभ आएको हो।
योसँगै नेपाली टोलीले प्रशिक्षण सुरु गर्न पाउने भएको छ। ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको छ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ। स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो। नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ। युएईले खेलेको एउटा खेल रद्द भएको थियो। पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ।
पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ। लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।