काठमाडौं- अफगानिस्तानका आक्रामक ब्याट्सम्यान तथा विकेटकिपर मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट खेल्ने भएका छन्।
चितवन टाइगर्सले आइतबार ३४ वर्षीय साहजादसँग सम्झौता नवीकरण गरिएको जानकारी दिएको हो।
साहजाद सन् २०१९ मा चितवनमा आवद्ध भएका थिए। तर, कोरोना महामारीका कारण ईपीएल स्थगित हुँदा उनी नेपाल आएर खेल्न पाएका थिएनन्।
अफगानिस्तानबाट कूल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक प्रहार गरेका उनले १४ अर्धशतकसहित २७२७ रन बनाएका छन्। उनको औषत ३३ माथि रहेको छ। त्यस्तै ६५ टी २० अन्तर्राष्ट्रियमा उनले १३४ माथिको स्ट्राइकर रेटमा झन्डै २ हजार रन बनाएका छन्।
उनको एकदिवसीयमा अविजित १३१ र टी२० अविजित ११८ रन उच्च स्कोर हो। साहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी टी१० लिग, अफगानिस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ।
‘गत वर्ष जहाँ टुंगिएको थियो, त्यहीँबाट साहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौं,’ चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले भनिन्,‘ उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ।।’
यता, साहजादले पनि आफू काठमाडौं आएर खेल्न आतुर रहेको बताएका छन्।
‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आतुर छु। चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ सम्झौतापछि साहजादले भनेका छन्।
नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले कप्तानी गर्ने चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले पनि खेल्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।