प्रतीकात्मक तस्वीर काठमाडौं– सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ। विविध कारणले अवरोध हुँदा आयोजना सुरु भएको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको हो।
चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु भएको आयोजना २०१६ मा सम्पन्न गरिने लक्ष्य राखिएको थियो। आगामी १ वर्षभित्र आयोिजनाको निर्माण सम्पन्न हुने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए।
भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा आएको बाढी तथा कोभिड–१९को संक्रमणलगायत कारणले आयोजना प्रभावित भएकाले निर्माण अवधि बढेको आयोजनाले जनाएको छ।
आयोजनामा कार्यरत कामदार कोरोना संक्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ। हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन्।
सातसय २४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ रहेको छ भने विद्युतगृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ।
आयोजनाबाट माथिल्लो तामाकोशीको २२० केभी सिंगल सर्किट प्रसारण लाइनको सब–स्टेशन बाह्रबिसेसम्म चार किलोमिटर प्रसारण लाइनको प्रक्रिया सुरु भएको छ।
यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वनक्षेत्रमा रहने हुदाँ वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियामा छ। त्यस्तै पाँचवटा टावर व्यक्तिको जमिनमा परेकाले मुआव्जाको प्रक्रिया सुरु भइसकेको आयोजनाले जनाएको छ।
कुल १४ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले हालै स्थानीयका लागि सेयर निष्कासन गरेको थियो। आयोजनामा चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।