प्रतीकात्मक तस्वीर काठमाडौं– रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ।
मंगलबार भूमिगत विद्युत् गृह जान प्रयोग हुने २४६ मिटर भेन्टिलेसन टनेल निर्माणबाट काम थालिएको आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।
मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायत संरचना निर्माण सुरु गरिएको कम्पनीको भनाइ छ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेलीब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्यांकतर्फको पहुँच सडक निर्माणलगायत काम धमाधम भइरहेको जनाइएको छ।
निर्माणमा अहिले दुई सय श्रमिक आयोजना स्थलमा खटिएका छन्। प्रत्यक्ष वैदेशिक लगानीमा बन्न लागेको सो आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान ह्वावी इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। निर्माण अवधिको ब्याजसहित कुल अनुमानित ६४ करोड ७३ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको रहेको आयोजनामा नौ अन्तराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्।
आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा विद्युत् उत्पादन हुनेछ। उत्पादित उर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ। आयोजना २०८३ मंसिरभित्र सक्ने लक्ष्य कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।