फाइल तस्वीर काठमाडौं– मेलम्ची खोलमा आएको बाढीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज हाल्न सकिने प्राविधिकले बताएका छन्। शुक्रवार हेलम्बु पुगेको प्राविधिकसहितको टोलीले उक्त स्थानमा बेलिब्रिज हाल्न सकिने निष्कर्ष निकालेको हो।
अध्ययनसँगै उक्त स्थानमा बेलिब्रिज बन्ने भएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग, नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढीले बगाएका पुलमध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा तत्काल बेलिब्रिजको निर्माण थालिने जानकारी दिएको छ।
‘प्राविधिक टोलीको सर्वेक्षणअनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा चार–पाँच मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौं,’ पोख्रेलले भने, ‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम सुरू हुन्छ।’
प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रूपमा काम गर्ने हुँदा निर्माण थालिएको १५ दिनभित्र उक्त पुल सम्पन्न हुने पोख्रेलले बताए।
हेलम्बुको सर्वे सकेलगत्तै उक्त टोलीले मेलम्ची र पाँचपोखरी क्षेत्रको सर्वे गरेपछि आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माण अघि बढाउने उनले बताए।
स्थानीय तहले गर्नुपर्ने काम तत्काल सुरु गर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। ‘अबको चार–पाँच दिनमा बाटो क्लियर गरेर सामान लाने व्यवस्था मिलाउँछौं,’ उनले भने। उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा, पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पूर्णरूपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।