फाइल तस्वीर काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी तिहारसम्ममा विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ।
मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकमा बत्ती जडान गरिने जनाइएको छ।
यसका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए। केही दिनभित्रै सम्झौता गरी भदौ दोस्रो साताबाट काम सुरु हुने उनले जानकारी दिए। यसका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ।
आवश्यकताका आधारमा सहरको बाहिरी तथा खुला स्थानमा १६ मिटरको पोल र मानिसको बस्ती नजिक भने १२ मिटरको पोलमा बत्ती जडान गरिने उनले बताए। एक स्थानमा राखेको उक्त बत्तीले एक सय मिटरसम्म उज्यालो दिने बताइएको छ। यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा यस्तो बत्ती जडान भइसकेको छ।
बत्ती जडानपछि रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाको विश्वास छ। हाल पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटना बढिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।