काठमाडौं- श्रीलंका क्रिकेट टोलीका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
विश्वकप च्याम्पियन चान्डिमलले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्न लागेका हुन्। भैरहवाले सामाजिक सञ्जालमार्फत् ३१ वर्षीय चान्डिमल आफ्नो क्लबबाट खेल्न लागेको जानकारी दिएको हो।
फेसबुकमा भैरहवाले सिधैं नाम नतोके टी२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टी२० कप्तानी गर्ने खेलाडी टोलीमा जोडिन लागेको बताएको छ।
चान्डिमल श्रीलंका टी२० आई टोलीमा कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन्। सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।
यस्तै, चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन्। उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए।
२०१४ को टी२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चान्डिमल टोलीका सदस्य थिए।
भैरहवाको प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दसानायके छन्। भैरहवाले गतवर्ष ओमानका बिलाल खान, श्रीलंका स्पिनर जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दानालाई अनुबन्ध गरेको थियो।
ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।