काठमाडौं- बंगलादेशसँगको पाँचौं तथा अन्तिम टी२० आई खेलमा अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट भएको छ।
सोमबार जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भएको हो। अष्ट्रेलिया यो टी२० आई इतिहासकै सबैभन्दा कम योगफल हो।
अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ रनको योगदान दिए। बेन म्याकडेरमोट १७ रनमा आउट भए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशका स्पिनर सकिब अल हसनले ९ रन खर्चेर ४ विकेट लिए। तीव्र गतिका बलर मोहम्मद सैफुद्दिनले १२ रन खर्चेर ३ विकेट लिए। नासुन अहमद २ र कप्तान महमुदूल्लाह रियादले १ विकेट लिए।
त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो।
बंगलादेशका ओपनर मोहम्मद नईमले सर्वाधिक २३ रन बनाए। महमुदूल्लाह १९, सौम्य सरकार १६ र माहेदी हसन १३ रनमा आउट भए।
अष्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियन २-२ विकेट लिए। एश्टन टर्नर, एश्टन अगर र एडम जाम्पाले १-१ विकेट लिए।
बंगलादेश पहिलो खेलमा २३ रन, दोस्रो खेलमा पाँच विकेट र तेस्रो खेलमा १० रनले विजयी भएको थियो। चौथो खेलम बंगलादेश तीन विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।