काठमाडौं- काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काइ वाक टावर’ परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ।
निफ्राले परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ। बैंकले दुईवटै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गरेको हो।
वोन्डर्स ग्रुपद्वारा निर्माणाधीन कमलादीस्थित ‘स्काइ वाक टावर’ ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगस्थल, रेस्टुरेण्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुका लागि व्यवस्थासहितको पूर्वाधार रहने छन्। मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ।
यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काइ वाक टावर’सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो। प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौताअनुरुप निर्माण हुन लागेको उक्त परियोजनाले देशको पूर्व भूभागको मुख्य पर्यटकीयस्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायवप्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका पदाधिकारीहरुको उपस्थिति थियो। यस्तै परियोजनाको तर्फबाट अध्यक्ष प्रवेन्द्र पोखरेल, सञ्चालकहरु पदमप्रसाद न्यौपाने, तेजबाहादुर सिंह, खेमराज न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।