काठमाडौं- अलराउण्डर शरद भेषावकरले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्याडियटर्सको कप्तानी गर्ने भएका छन्।
भैरहवाले सामाजिक सञ्जालमार्फत् उनलाई कप्तानीमा निरन्तरता दिइएको जानकारी दिएको हो। यसअघि पनि उनले भैरहवाको कप्तानी गरेका थिए।
यस्तै, काठमाडौं किंग्स ११ को कप्तानी लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन्। कप्तान सोमपाल कामीलाई चितवन टाइगर्समा बेचेपछि काठमाडौं कप्तानविहीन भएको थियो।
ईपीएलमा मार्की खेलाडीसमेत रहेका सोमपालले चितवनको कप्तानी गर्ने छन्। यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए।
सोमपाल काठमाडौंबाट ईपीएलको प्लेयर ट्रेड नियमअनुसार चितवन पुगेका हुन्। यता, चितवनका दीपेन्द्रसिंह ऐरी काठमाडौंमा आइपुगेका छन्। उनलाई पनि काठमाडौंको कप्तानको रुपमा हेरिएको थियो।
यस्तै, भैरहवाले राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई निरन्तरता दिएको छ।
शरद कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोलीसमेत हो। भैरहवाले वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदै छ। प्रतियोगितामा छ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।