उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो स्थायी समिति बैठक

नेपाल लाइभ | २०७४ भदौ १७ शनिबार | Saturday, September 02, 2017 १२:४६:०० मा प्रकाशित

काठमाडौं- नेकपा एमालेले प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकले प्रदेश-२ मा असोज २ गते हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने सचिव योगेश भट्टराईले जानकारी दिए। 'आसन्न निर्वाचनका लागि उम्मदेवारको टुंगो लगाउन हामी छलफलमा जुट्दैछौं। स्थायी समिति बैठकले आजै उम्मेदवारको नामावली तयार गर्छ,' भट्टराईले भने।

बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गरी बुझाएको प्रतिवेदनका विषयमा समेत छलफल हुने भट्टराईले जानकारी गराए। आयोगले मापदण्डविपरीत क्षेत्र निर्धारण गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। 'क्षेत्र निर्धारणका मापदण्डविपरीत आयोगले सरकारलाई प्रतिवदेन बुझाएको छ। यस विषयमा बैठकले आधिकारिक धारणा तय गर्छ,' उनले भने।

बैठकमा निर्वाचनको लागि रणनीति तयार गर्नुका साथै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि प्रारम्भिक तयारीका विषयमा समेत छलफल हुने भएको छ।