काठमाडाैं– पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी नदिई एकैपटक सामाजिक सञ्जालमार्फत
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनले सन्यासबारे कुनै सल्लाह नगरेको र जानकारी पनि नदिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। ‘मलाई उहाँको सन्यासबारे जानकारी छैन। अहिले तपाईंबाटै पहिलोपटक सुनेँ,’ पारसको सन्यासबारे सोधिएको प्रश्नमा उनले भने।
यसअघि २८ असोज २०७६ मा कप्तान पदबाट राजीनामा घोषणा गर्दा पनि उनले क्यानसँग सल्लाह गरेका थिएनन्। सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्नुअघि उनले क्यानलाई जानकारी पनि दिएका थिएनन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि हटाएको प्रतिबन्धको भोलिपल्ट नै उनले राजीनामा दिएका थिए।
आफूले क्यानको नयाँ कार्यसमितिलाई काम गर्न सजिलो बनाइदिन राजीनामा दिएको उनले बताएका थिए। तर, सल्लाहविना नै राजीनामा घोषणा गर्दा क्यान पदाधिकारी उनीसँग रुष्ट बनेका थिए।
पहिलादेखि नै पारसले क्यानसँग सल्लाह नगरी र जानकारी नदिइ आफ्ना निर्णय सार्वजनिक गर्ने गरेको एक पदाधिकारीले बताए। क्यानका ती पदाधिकारीले भने, ‘पहिलादेखि नै उहाँले क्यानसँग सल्लाह गर्नुहुन्न थियो। उहाँको त्यही बानीको निरन्तरता भएको छ। सन्यासअघि कम्तीमा हामीलाई जानकारी दिएको ठीक हुन्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।