काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ।
असार १ गतेको बाढीले पुर्याएको क्षतिपछि पुनर्निर्माण गरी केही दिनअघि सञ्चलनमा आएको आयोजना पुनः बन्द भएको हो।
शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो।
सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र एउटा भाँचिएको छ। अवस्था सहज भएमा टावर मर्मत गर्न कम्तीमा १५ दिन लाग्ने आयोजनाले जनाएको छ।
बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ।
इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुनेपाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समस्या रहेकाले विद्युत् पुनः सञ्चालन हुन केही समय लाग्ने हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए।
बाढीले बाटो तथा पुलसमेत बगाएकाले मर्मतसम्भार र पुनर्निर्माण झनै समस्या रहेको उनले बताए। बैकल्पिक रुटबाट सम्भव भएसम्म विद्युत् पुनः सञ्चालन गर्न प्रयास भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।