फाइल तस्बिर। काठमाडौं- संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुनेगरी नागढुंगा सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुनेगरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो। संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको कार्यप्रगतिबारे जानकारी गराएका थिए।
'यो आयोजनालाई अघि बढाउने काम चुनौतीपूर्ण रहेको कुरा अनुगमनका क्रममा देखियो। यहाँ वरपरका बस्तीहरुलाई पनि त्यत्तिकै जोखिम छ। यो पनि हामीले बचाउनुपर्ने हुन्छ। र, यसको समाधानका लागि सरकारसँग कुरा गर्छौं,' आयोजनाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति तारादेवी भट्टले भनिन्, 'आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहल गर्नेछौं।'
समितिको गत शुक्रबार बसेको बैठकले सो आयोजना समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिँदै आयोजनाको प्रगतिबारे जानकारी लिन स्थलगत अनुगमनमा जाने निर्णय गरेको थियो। समितिको सोही निर्णयअनुसार आफूहरु समय मिलाएर आयोजनाको स्थलगत जानकारी लिन आएको सभापति भट्टले बताइन्। अनुगमन टोलीलाई आयोजनाका प्राविधिकहरुले आयोजनाले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए।
आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएको समयमै सम्पन्न गर्नका लागि जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारसँग पहल गरिदिन संसदीय समितिको अनुगमन टोलीलाई आग्रह गरेका थिए। उनले एक महिनाभित्र यी दुवै समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने पनि स्पष्ट पारे।
यता, आयोजनाले सुरुङमार्ग निर्माणको काम १८.५ प्रतिशत सम्पन्न भएको जनाएको छ। 'चार वटा प्वाल बनाएर मुख्य सुरुङमार्ग र आपतकालीन सुरुङमार्ग निर्माणको कामलाई अघि बढाइएको छ,' आयोजनाकी इन्जिनियर कल्पना अधिकारीले भनिन्, 'हालसम्म आयोजनाको भौतिक प्रगति १८.५ प्रतिशत भएको छ।' आगामी दिनमा प्रत्येक महिना चार प्रतिशतका दरले आफ्नो काममा प्रगति गर्दै लैजाने आयोजनाको योजना छ।
जापान सरकारको ०.०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा सुरु गरिएको यो आयोजनाको काम सुरु भएको करिब १९ महिना पुगेको छ। साढे पाँच किलोमिटर लम्बाई रहेको यो सुरुङमार्गको मुख्य काम आगामी जेठभित्र सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको आयोजनाका निर्देशक शाक्यले बताए। समितिकी सभापति भट्टले पनि यो आयोजना अन्य देशका लागि नमूनायोग्य हुनेगरी बन्ने विश्वास व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।