काठमाडौं– वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ। गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो।
पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनायो।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै रिटायर्ड हर्ट भएका इभिन लेविसले ३५ रन बनाए। कप्तान केइरन पोलार्डले १३ तथा शिम्रन हिटमायरले १७ रन जोड्दा क्रिस गेल १६ रनमा आउट भए।
पाकिस्तानका शहिन अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले।
त्यस्तै, मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए। यससँगै रिजवानले एकै वर्षमा सर्वाधिक धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्। रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन्।
वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए।
जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। पहिलो खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।