काठमाडाैं– पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
भेट्रान अलराउण्डर अफ्रिदीले आगामी असोजमा हुने ईपीएल काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्।
टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो।
४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन्।
पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन्।
काठमाडौंले गतवर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नाम सार्वजनिक गरेको थियो। केभिन र कोरी यो वर्ष आउने वा नआउने निश्चित भने छैन।
त्यस्तै, गतवर्ष वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस व्रेथवेट र ओमानका अकिब इलायसको नाम पनि चर्चामा थियो।
काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन्।
आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।