काठमाडाैं- बंगलादेशले पहिलो टी२० आई सिरिजमा घरेलु टोली जिम्बावेमाथि ८ विकेटको सहज जित निकालेको छ।
जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। याेसँगै पाहुना टाेली बंगलादेशले तीन टी२० आई सिरिजमा १-० को अग्रता लिएको छ।
बंगलादेशका ओपनर मोहम्मद नईम ६३ रनमा अविजित रहे। उनले ५१ बलमा ६ चौका प्रहार गरेका थिए। यस्तै, नुरुल हसन १६ रनमा अविजित रहे।
यता, सौम्य सरकार ४५ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए। कप्तान महमुदूल्लाह रियादले १५ रन बनाए। त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेकाे जिम्बावे १९ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो।
जिम्बावेका विकेटकिपर रेजिस चकब्भाले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, डियोन मायर्सले ३५, वेस्ले मेधभरेले २३, ल्यूक जोंग १८ रनको योगदान दिए।
बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए। मोहम्मद सैफुद्दिन र शोरिफुल ईस्लामले २/२ विकेट लिए। सकिब अल हसन र सौम्य सरकारले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।