काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले स्वदेश फर्किएका छन्। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)को आयोजनामा हुने ‘द हन्ड्रेड’ (एक सय बलको) प्रतियोगिता भिसाको कारण गुमाएपछि सन्दीप बिहीबार स्वदेश फर्किएको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।
‘त्रिभुवन विमानस्थल दिउँसो १२ बजे आइपुगेका हुन्। दुवै डोज कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यहीपनि केही दिन होम क्वारेन्टिनमा बस्नेछन्,’ उनले नेपाल लाइभलाई भने।
सन्दीपले इसीबीको निर्देशन पालना गर्दा पनि प्रतियोगिताबाट बाहिर हुनु परेको हो। उनले टी२० ब्लास्ट र द हन्ड्रेडका लागि टियर-५ भिसाको आवेदन दिएका थिए।
तर, भिसा इबीसीले अवैध भनिदियो। सन्दीप भिसाकै कारण अघिल्लो महिना टी२० ब्लास्टसमेत गुमाएका थिए।
बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा गतवर्ष अनुबन्ध भएका थिए। ओभलले उनलाई ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध गरेको थियो। यसपटक पनि ओभलले उनलाई रिटेन गरेको थियो।
प्रतियोगिता सहभागिता जनाउन सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए। तर, १० दिनको अनिवार्य क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहँदा इसीबीले भिसा मान्य हुननसक्ने जानकारी दिएको सन्दीपको भनाइ छ। साथै, जतिसक्दो चाँडो देश छाड्न भनिएको थियो।
उनले एउटा प्रायोजन पर्याप्त हुने इबीसीले दिएको निर्देशनअनुसार आफूले भिसा लागि आवेदन दिएको बताएका छन्। सन्दीपको टोलीले उद्धघाटन खेलमा आज बिहीबार म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम थियो। तर, उनकाे सहभागिता निश्चित थिएन।
ओभलले तीन विदेशी खेलाडी मध्ये दुई जनालाई मात्र खेलाउन पाउछ। जसमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र वेस्ट इन्डिजका सुनिल नारिन लन्डन पुगिसकेका छन्। उनीहरू टिमका लागि उपलब्ध हुनेछन्।
सन्दीप पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी खेल्ने छन्। शाम्सी टी२० वरियताका नम्बर वान बलर हुन्।
सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा ओभलसँगै ब्रिमिङहम फोएनिक्स, लण्डन स्प्रित, म्यानचेष्टर ओरिजिनल्स, नर्थन सुपरचार्ज्स, साउथर्न ब्रेभ, ट्रेनट रकेट्स र वेल्स फायरले प्रतिस्पर्धा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।