तस्बिर साैजन्य: नेपाली सेना काठमाडाैं- गएको आर्थिक वर्षसम्म काठमाडाैं-तराई/मधेश द्रूतमार्ग आयोजनाको समग्र भौतिक प्रगति १६.१ प्रतिशत हासिल भएको नेपाली सेनाले जानकारी दिएको छ। वित्तीय प्रगति १४.५१ प्रतिशत भएको जनाएको छ।
आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो। गत आव ०७७/७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएकोमा वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत रहेको सेनाले जनाएको छ। सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको उक्त आयोजनाको महत्त्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ ठेक्कापछिको कार्य प्रारम्भ गरिएको छ।
आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषयविज्ञ छनोट गरी सर्भेलगायतका कार्य सुरु गरिएको छ। हाल उक्त परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, सुरुङ इञ्जिनियर्स, सडक इञ्जिनियर्स, पुल इञ्जिनियर्स, वरिष्ठ भूगर्भशास्त्रीले कार्य प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरिएको तथा पुल र सुरुङ निर्माण गर्न आवश्यक पहुँचमार्ग निर्माण कार्य भइरहेको जनाएको छ। आयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ।
सेनाका अनुसार आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम पूरा भएको छ। खोकना-बुङ्मतीमा जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भइ समन्वयका लागि पहल भइरहेको सेनाले जानकारी दिएको छ।
रुख कटान तथा व्यवस्थापनको काम सतप्रतिशत पूरा भई असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा बिरुवा रोपण भएको जनाएको छ। आयोजना अघि बढाउने सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङकन स्वीकृति भइ कार्य प्रारम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।