काठमाडाैं- लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ प्रतियोगिता गुमाउने भएका छन्। इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले पहिलोपटक आयोजना गर्न लागेको सय बलको यस क्रिकेट प्रतियोगिता सन्दीपले भिसाका कारण गुमाउने भएका हुन्।
सन् २०२० मा पहिलोपटक प्रतियोगिता आयोजना हुने तय भए पनि कोरोना महामारीका कारण हुन सकेन। त्यसैले यसको पहिलो संस्करण २०२१ मा सारिएको थियो।
सन्दीप गत वर्ष ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो। यसपटक पनि ओभलले उनलाई रिटेन गरेको थियो। तर, बेलायत पुगेका सन्दीपले टिएर ५ भिसामा प्रतियोगिता खेल्न नपाउने भएपछि फर्किन लागेको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।
‘भिसाकै कारण सन्दीपले प्रतियोगिता खेल्न नपाउने भनिएको छ। उनलाई स्वदेश फर्काउने प्रक्रिया मिलाइरहेका छाैं। भोलि वा पर्सीसम्म उनी नेपाल फर्किने छन्,’ उनले नेपाल लाइभलाई भने।
बिहीबारबाट सुरु हुने प्रतियोगितामा ओभलसँगै ब्रिमिङहम फोएनिक्स, लण्डन स्प्रित, म्यानचेष्टर ओरिजिनल्स, नर्थन सुपरचार्ज्स, साउथर्न ब्रेभ, ट्रेनट रकेट्स र वेल्स फायरले प्रतिस्पर्धा गर्ने छन्।
सन्दीपको टिममा टम करन, साम करन, साम बिलिङ्स, रोरी बर्न्स, लाउरी इभान्स, एलेक्स ब्लेक, विल ज्यक, सुनिल नारिन, ज्यासन रोए, नाथन स्वोटर, रिस टोपलगायतका खेलाडी आबद्ध थिए।
सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै एक करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका हुन्। उनी यही प्रतियोगितामा भाग लिन गत असार २४ मा इंग्ल्यान्ड गएका थिए।
सोमबार उनले बेलायत सरकारबाट तोकेअनुसार मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेन्टिन समयसीमा पनि पार गरेका थिए।
सन्दीप प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी खेल्ने छन्। उनी टी-२० वरीयता नम्बर वान बलर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।